काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेपछि स्थगित गरिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक र विशेष समयमा सांसदहरूले बोलिसकेपछि कांग्रेस र राप्रपाले अवरोध गरेका हुन् । दुई दलले उभिएर बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले पटकपटक अघि बढाउन आग्रह गरेका थिए ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति माग गरिरहेको छ । अर्कातिर राप्रपाले मंगलबार भएको प्रदर्शनका क्रममा दमन गरेको भन्दै लामिछानेको राजीनामा माग गर्दै संसद्मा अवरोध गरेको हो ।
दुई दलको अवरोधपछि सभामुख घिमिरले बुधबारका लागि तय गरिएका कार्यसूची सबै हटाएका थिए । त्यसपछि उनले बैठकको अवरोध नहटेको भन्दै वैशाख २ गतेसम्मलाई प्रतिनिधिसभाको बैठक स्थगित गरेको जानकारी दिएका थिए ।