काठमाडाैं । बेलायती रक्षा मन्त्रालयले गोर्खा भूतपूर्व सैनिकको पेन्सन बढाउने भएको छ । बेलायती रक्षा मन्त्रालयले सो जानकारी लन्डनस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा पठाएको छ ।
बेलायतले २१ वर्षअघि भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा १४० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । सो प्रतिबद्धता लामो समय कार्यान्वयनमा आउन सकेको थिएन ।
पछिल्लो समय गोर्खा भूतपूर्व सैनिकले बेलायती सैनिकभन्दा एक तिहाइ कम पेन्सन दिइएको भन्दै विरोध गर्दै आएको थियो । लामो समयदेखि बेलायती नागरिक र नेपाली नागरिकमा असमान पेन्सन भएको भन्दै विरोध गर्दै आएका गोर्खा भूतपूर्व सैनिक धर्ना बसेका थिए ।
गत सेप्टेम्बरमा गोर्खा भूतपूर्व सैनिकले धर्ना बसेपछि बेलायती रक्षामन्त्री बेन वालेस आफैं उपस्थित भएर आन्दोलनरत भूतपूर्व गोर्खा सैनिकको १३ दिन लामो धर्ना तोडाएका थिए । रक्षामन्त्री वालेसले सन् २०२१ भित्र गोर्खा सैनिकको माग पूरा गर्ने प्रतिबद्धता व्यक्तसमेत गरेका थिए ।
नेपाल सरकारले भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायतसँग संवादको पहल थाल्नका लागि समिति बनाउने जनाइसकेको छ तर हाल बेलायतमा नेपालको राजदूत नभएकाले समिति गठन भई संवादको प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपाल सरकारले राजदूतस्तरमा समिति बनाएर पहल गर्ने जनाएको छ ।
गोर्खा भूतपूर्व सैनिकले पेन्सनमा बेलायती नागरिक र आफूहरूमा विभेद भएको भन्दै विरोध गर्दै आइरहेको छ तर उता बेलायती पक्षले भने सन् १९९७ भन्दा अघि भर्ती भएका बेलायती सैनिकहरूले २२ वर्ष सेवा गरेपछि मात्रै पेन्सन पाउने तर गोर्खा सैनिकले १५ वर्षपछि पेन्सन पाउने भन्दै विभेद भएको भन्न नमिल्ने तर्क गरिरहेको छ ।
बेलायती सैनिकमा काम गरेका भूतपूर्व गोर्खा सैनिकको पेन्सन बढाउने विषयमा यसअघि बेलायको रक्षा मन्त्रालय पटक–पटक राय सुझाव पनि लिएको थियो । त्यहाँस्थित भूतपूर्व गोर्खा सैनिकले रक्षा मन्त्रालयको सुझाव बेवास्ता गरे पनि इमेल, गोष्ठी, हुलाकबाट राय सुझाव लिएको थियो । धेरैले भारतीय गोर्खा सेनामा काम गरेका गोर्खा सैनिकले भन्दा २०० प्रतिशत बढी पेन्सन पाउनुपर्ने माग राखेका थिए ।
बेलायती रक्षा मन्त्रालयले यसअघि सन् २०२० मा भूतपूर्व गोर्खा सैनिकहरूसँग पेन्सनको विषयमा राय सुझाव मागेको थियो । त्यहाँको सातौं केन्द्रीय पेन्सन योजना कर्यान्वयन गर्ने उद्देश्यले सुझाव मागेको थियो । सो सुझावको आधारमा बेलायतको रक्षा मन्त्रालयले गत बिहीवार निकालेको प्रेस विज्ञप्तिअनुसार बेलायती गोर्खा सैनिकको पेन्सन बढाउने प्रक्रिया अघि बढेको जनाएको छ ।
नेपालमा गोर्खा सैनिकले पेन्सनको विषयमा पटक–पटक आन्दोलन गर्दै आएका छन् । बेलायती सेनामा बेलायती नागरिकसरह काम गरेपछि उनीहरूसरह पेन्सन पाउनुपर्ने गोर्खा भूतपूर्व सैनिकको माग रहेको छ । आन्दोलनरत भूतपूर्व गोर्खाका माग सम्बोधन गर्न नेपाल र बेलायतबीच डिसेम्बर २०२१ भित्र संवाद समिति बनाएर अघि बढ्ने सहमति गत सेप्टेम्बरमा भएको थियो । राजधानी दैनिकमा समाचार छापिएकाे छ ।