२५ भदौ, काठमाडौं – मंगलबार प्रदर्शनकारीहरूले राज्यका तीन वटै अंगका भवन र महत्वपूर्ण सरकारी कार्यालयहरूमा आगो लगाएका छन्। यस घटनाले राष्ट्रिय सम्पदाको ठूलो क्षति पुर्याएको बताइएको छ। अध्यता जगत नेपालका अनुसार, सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति निवास शीतल निवास र सर्वोच्च अदालतमा रहेका संवेदनशील कागजातहरू जलेका छन्।
सिंहदरबारमा विगतमा वि.सं. २०३० साल असार २४ गते पनि आगलागी भएको थियो, तर त्यसपटक अन्जानवश भएको भनिएको थियो। यसपटक आगो नियन्त्रण गर्ने कोही नभएकोले इतिहासका महत्वपूर्ण दस्तावेजहरू नष्ट भएका छन्। कतिपय कागजातहरू ३०–४० वर्षपछि मात्र सार्वजनिक हुने खालका थिए, जसको कमीले भविष्यका पुस्तालाई इतिहास बुझ्न कठिन हुनेछ।
अध्यता नेपाल भन्छन्, “सरकारी भवन त पुनर्निर्माण गर्न सकिन्छ, तर नष्ट भएका कागजात फिर्ता आउँदैनन्। यसको मूल्य नेपालले युगौंसम्म चुकाउनुपर्नेछ।”