काठमाडौँ - अर्जेन्टिनी प्लेमेकर पाउलो डिबालालाई इटालियन क्लब इन्टर मिलानले अनुबन्ध गर्ने तयारी गरेको छ। इन्टरले यो हप्ता डिबलाका एजेन्टसँग छलफल गर्ने तयारी गरेको पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन्।
अर्को इटालियन महारथी युभेन्टस छाडेका डिबाला नयाँ चुनौतीको खोजीमा रहेका छन्। २८ वर्षीय खेलाडी अहिले फ्रि–ट्रान्सफरमा उपलब्ध छन्। डिबालालाई इंग्लिस क्लब टोटनहम हटस्पर्स र म्यानचेस्टर युनाइटेडले भित्र्याउन खोजे पनि उनले तलबबापत मोटो रकम माग गरेपछि दुई क्लब पछि हटेको बेलायती मिडियाले जनाएको छ।
सन् २०१५ मा युभेन्टससँग अनुबन्ध भएका डिबालाले क्लबका लागि २१० खेल खेल्दै ८२ गोल गरेका छन्। त्यसअघि २०१२ देखि २०१५ सम्म पालेर्मोमा बिताएका उनले ८९ खेलबाट २१ गोल गरेका थिए।