काठमाडाैँ - महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ। ऊ आज सम्पन्न खेलमा युगाण्डासँग १२ रनले पराजित हुन पुगेको हो। १०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो।
नेपालका लागि ईन्दु बर्माले सर्वाधिक १६ रनको योगदान दिइन्। डोली भट्टले १३, विन्दु रावलले १२ र कविता कुँवरले अविजित ११ रन बनाए।युगाण्डाका लागि सारा ओकिटेङ र कोन्सी अविकोले दुई–दुई तथा जेनेट एम्बाबाजी र रिता मुसामालीले एक–एक विकेट हात पार्दा तीन विकेट रन आउटका रुपमा प्राप्त भयो।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनएको थियो। युगाण्डाका लागि जेनेट एम्बाबाजीले सर्वाधिक २९ रन जोडिन। रिता एनयागेन्गोले १८,केभिन अविनोले १५, फ्रान्कलिन नाजुम्बाले १२ र रिता मुसामालीले अविजित १३ रन बनाए।
नेपालका कविता कुँवरले दुई तथा कप्तान रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एक–एक विकेट हात पारे।