रङ्गशाला जङ्गलमा परिणत भएपछि...

कैलाली - कैलालीको टीकापुर खेलकुदका लागि निकै सम्भावना भएको क्षेत्र हो। टीकापुरमा बस्ती विस्तारका समयमा खेलकुद विकासको सम्भावनालाई मध्यनजर गर्दै धेरै काम अगाडि बढाइएकोे थियो। पछिल्लो समय संघीय तथा स्थानीय सरकारले यहाँको खेलकुद प्रवद्र्धनमा ध्यान नदिँदा  टीकापुरले पाउनुपर्ने सफलता अझै पाउन सकेको छैन।
    
टीकापुर नगर खेलकुद विकास समितिको नाममा अहिले पनि २२ बिघा जग्गा छ। सरकारले अहिलेसम्म त्यो रङ्गशालाको स्तरोन्नतिका लागि करोडको लगानी गरिसकेको छ। राज्यको करोडौँ खर्च भएको रङ्गशाला जङ्गलमा परिणत छ। निर्माण भएका संरचना पनि संरक्षणको अभावमा काम नलाग्ने अवस्थामा पुगिसकेका छन्। खेलकुद क्षेत्रमा भएको राज्यको  लगानीबाट अहिलेसम्म  खेलाडीले फाइदा लिन सकेका छैनन्।
 
यहाँ खेलकुदका गतिविधि सञ्चालन गर्न वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको खेलकुद मैदान एक विकल्पका रुपमा छ। स्थानीय सरकारदेखि अन्य सङ्घसंस्थाले आयोजना गर्ने खेलकुदका गतिविधि त्यहीँ विद्यालयको खेलकुद मैदानमा हुने गरेका छन्। केही साना खेलकुद प्रतियोगिता टीकापुरको खुला मैदानमा हुने गरेको भए पनि त्यो खेलकुदका लागि व्यवस्थित बनाउन सकिएको छैन।
   
पछिल्लो समयमा टीकापुर क्षेत्रमा खेलकुदका गतिविधि निकै कम भएको स्थानीयवासी भरत भण्डारीले बताए। “कुनै बेला टीकापुरमा महिनैपिच्छे खेलकुद प्रतियोगिता हुनेगर्थे।  भएका संरचनाको युवा आफैँ पनि सरसफाइलगायतका काम गरेको देखिन्थ्यो। अहिले त्यो हराएको छ।” उनले भने,  “खेलप्रति खेलाडीको रुचि पनि कम भएको होकीजस्तो देखिन्छ। खेलकुदका गतिविधि नहुँदा युवा सामाजिक आपराधिक घटनामा लाग्ने हुन कि भन्ने चिन्ता बढेको देखिन्छ।” स्थानीय सरकारको खेलकुद क्षेत्रमा खासै लगानी पनि हुन नसकेको र खेलाडीले खेलकुदमा भविष्य नदेखेकै कारण पनि खेल र खेलाडीमा कमी आएको उनको भनाइ छ। पछिल्लो समय खेलकुदका गतिविधि हुन छाडेपछि खेलाडीसमेत विस्थापित हुँदै गएका छन्।
 
टीकापुर नगर खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण थापाले खेलकुदका क्षेत्रमा टीकापुरमा थुप्रै सम्भावना भए पनि यसको सदुपयोग हुन नसकेको बताए। उनले टीकापुरमा खेलकुदको लागि पर्याप्त जग्गा भए पनि लगानी हुन नसक्दा समस्या भएको जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×