काठमाडौँ - नेपालमा शुक्रबार पाँचवटा फिल्म रिलिज हुँदैछन्। नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शन हुनेछन्।
एकैदिन ५ फिल्म रिलिज हुँदा दर्शकलाई रुचिअनुसार हेर्ने विकल्प खुला भए पनि बक्स अफिसमा भने दबाब पर्नेछ। शो र दर्शक बाँडिंदा रिलिज हुन लागेको नयाँ नेपाली फिल्मलाई पक्कै चुनौती खडा हुनेछ।
त्यति मात्र होइन, अहिले हलमा राम्रो प्रदर्शन गरिरहेको ‘दुई नम्बरी’ र चल्दै गरेको ‘प्रेमगीत ३’लाई थप चुनौती हुनेछ। टेलिभिजनमा ‘हिजोआजका कुरा’ हेरेर हुर्किएको नेपाली दर्शकको जमातलाई फिल्म हिजोआजका कुरा रुचिकर हुनसक्छ। तर ‘मास’ दर्शकलाई यसले कत्तिको अपील गर्न सक्ला भन्ने कुरा चाहिं फिल्मको वर्ड अफ माउथमा निर्भर हुनेछ।
समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरेको दक्षिण भारतीय फिल्म ‘कन्तारा’लाई ‘केजीएफ २’ का निर्माताले निर्माण गरेका हुन्। विश्वभर नै शुक्रबार लाग्न लागेको कन्तारा साउथ फिल्म रुचाउने र केजीएफका फ्यानलाई रुचिकर हुनसक्छ।
सलमान खान र चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’ भारतमा गत साता नै रिलिज भएपनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने भोलि (शुक्रबार)देखि रिलिज गर्दैछ। भारतीय बक्स अफिसमा यसले औसत कमाइ गरिरहेको छ।
आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’लाई लिएर पनि दर्शकमाझ पर्खाइ छ। विषयगत फिल्म हेर्न रुचाउने गम्भीर दर्शकदेखि कमेडी रुचाउने दुवैथरी दर्शकलाई यसले आकर्षित गर्न सक्छ। यसले पुरुष गाइनोक्लोजिस्टको कथा भन्छ।
‘वान पिस रेड’ सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो। एनिमे सिरिजका फ्यान र दर्शकलाई लक्षित गर्दै नेपाल रिलिज गर्न लागिएको यो फिल्मलाई लिएर तन्नेरीमाझ उच्च पर्खाइ छ।
अहिले हलमा चलिरहेको ‘२ नम्बरी’ले पहिलो साताजस्तै आफ्नो बक्स अफिस मोमेन्टलाई अघि बढाउन सके, यसले दोस्रो साता पनि कमाइ राम्रै गर्न सक्छ। तर दर्शकीय क्रयशक्ति र शोको दबाब चाहिं बक्स अफिसमा स्पष्ट रुपमा पर्नेछ।