काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिको कार्यालय शीलतनिवासमा बिहीवार प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे बमोजिम समयमै सम्पन्न गर्न आग्रह गरेकी छन्। प्रधानमन्त्री देउवासँगको भेटमा राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाबमोजिम समयमै स्थानीय निर्वाचन र अन्य निर्वाचनहरु समेत सम्पन्न गर्नुपर्ने बताएकी हुन्।
जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे सबै दलहरुसँग परामर्श भइरहेको बताएका थिए । संविधानको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको र संविधानको मर्म र भावना बमोजिम समयमै निर्वाचन गर्नेबारे सबैसँग सल्लाह गरेरै निष्कर्ष पुग्ने प्रधानमन्त्रीको भनाई थियो ।
देउवाले आजको भेटमार्फत स्थानीय निर्वाचन र संसद् सञ्चालनका विषयमा राष्ट्रपति मार्फत दलहरुबीच समन्वयको प्रयास गरेको बताइएको छ । प्रतिपक्षी एमालेले प्रधानमन्त्री देउवाले बोलाएका सर्वदलीय बैठक समेत बहिष्कार गर्दै आएको छ ।