काठमाडौँ - म्यानचेस्टर युनाइटेडको रुचीबीच बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले फ्रान्की डि योङ क्लबमा नै बस्न चाहेको बताएका छन्।
प्रिमियर लिग क्लबले २५ वर्षीय नेदरल्याण्डका मिडफिल्डरका लागि ६.३५ करोड पाउन्ड खर्च गर्ने सहमति बने पनि हालसम्म अनुबन्ध प्रक्रिया पुरा हुन सकेको छैन।
गत आइतबार पुमास यूएनएएमविरुद्ध ६-० को जीत हासिल गर्ने क्रममा डि योङले गोलसमेत गरेका थिए। ‘उनी बार्साका खेलाडी हुन्, हामी उनी यहीँ बसून् भन्ने चाहन्छौँ,’ लापोर्टाले भने, ‘उनका लागि अफरहरू आएका छन्। उनी पनि यहीँ बस्न चाहन्छन्।’
बार्साले उनलाई तलबको रकम तिर्न बाँकी रहेको छ। यस विषयमा उनी र बार्सिलोनाबीच विवादसमेत देखिएको छ। बार्सिलोना यो सिजन नयाँ खेलाडीका लागि १२ करोड पाउन्डभन्दा बढी खर्च गरिसकेको छ।
बार्साले रोबर्ट लेवान्डोस्की, राफिना र जुल्स कोउन्डेलाई खरिद गरेको छ भने आन्द्रेस क्रिस्टिएन्सन र फ्रांक केसी फ्रिट्रान्सफरमा क्लबसँग अनुबन्ध भएका छन्।