काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन्।
दुई दशकअघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु. नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो। हाल महानगरले रु. पाँच करोड सहयोग गरेको छ। कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, सचिव पेम्बा लामा, बागमती प्रदेशका सदस्य दीपक निरौलालगायत सहभागी थिए।
कलेजका प्रमुख डम्बरबहादुर हमालका अनुसार कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अङ्ग्रेजीलगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल एक हजार ५०० विद्यार्थी छन्।