काठमाडौँ- सहिद स्मारक ए डिभजिन लिगको दशौँ चरणको खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइज क्लबमाथि ५–२ को सानदार जित निकालेको छ। लिगको नवौँ चरणसम्म जितविहीन रहेको फ्रेन्ड्सले शुक्रबार दशरथ रंगशालामा स्पष्ट तीन अंक बटुल्दै रेलिगेसन क्षेत्र छाडेको छ। हारपछि ब्रिगेड भने रेलिगेसन जोनमा परेको छ। फ्रेन्ड्स ६ अंकका साथ १२औँ स्थानमा पुगेको छ। फ्रेन्ड्सले दुई स्थान सुधार गरेको हो।
नवौँ चरणसम्म पनि लिगको पुछार (१४) औँ स्थानमा फ्रेन्ड्स रहेको थियो। च्यासल क्लब भने पाँच अंकका साथ १४औँ स्थानमा झरेको छ। ब्रिगेडको पनि ६ अंक नै छ। फ्रेन्ड्ससँग समान अंक भए पनि गोलअन्तरमा ब्रिगेड १३औँ स्थानमा सीमित भएको हो। फ्रेन्ड्सको सानदार जितमा जमोल एन्थोनी पउल र सुशील शाहले समान दुई गोल गरेका थिए। श्यामबाबुले फ्रेन्ड्सका लागि थप एक गोल गरे।
दशौँ चरणअन्तर्गत शुक्रबार दोस्रो खेलमा साविक उपविजेता त्रिभुवन आर्मी हारबाट जोगिएको छ। खेलको अन्तिम इन्जुरी समयमा सुमन अर्यालले गोल गरेपछि आर्मीले जावलाखेल युथ क्लबलाई १–१ को बराबरीमा रोकेको हो। आर्मी १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ।