काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।
उद्योगी व्यवसायीहरूको छाता संस्था महासङ्घको ५७ औँ साधारण सभाले महासङ्घको नयाँ नेतृत्वको लागि आज मतदान हुन लागेको हो। यस महासङ्घको अधिवेशन हिजो उद्घाटन भएको थियो। हिजोबाट सुरु भएको साधारणसभवाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ। यसरी निर्वाचित हुने महासङ्घको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन्। साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ।
यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा आउनेछन्।