काठमाडौँ - बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म 'ब्रह्मास्त्र भाग एकः शिव'को पुरा ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा रणवीर र आलियासँगै अमिताभ बच्चन, अक्किनेनी नागार्जुन र मोनी रोयको मुख्य भूमिका रहेको छ।
फिल्ममा एक्सन, रोमान्स र ड्रामा भरपूर रहेको छ। फिल्मको कहानी शिवामा आधारित छ जसको भूमिका रणवीरले निभाएका छन्। शिवा इशासँग प्रेम गर्छन्। इशाको भूमिकामा आलिया छिन्।
शिवासँग एक सुपर-पावर छ, ‘अग्नीको शक्ति’। अमिताभ बच्चन ब्रह्मा र नागार्जुन भगवान विष्णुको भूमिकामा देखिएका छन् भने मोनी नकारात्मक भूमिकामा देखिएकी छन्। जो ब्रह्मास्त्रमा कब्जा गर्न चाहन्छिन्।
आयान मुखर्जीद्वारा निर्देशित फिल्म ‘ब्रह्मास्त्र’को करिब पाँच सय करोड रूपैयाँ बढी लगानी रहेको छ। बलिउड हंगामाका अनुसार यो फिल्म तीन सय करोड भारूमा बनेको छ। योसँगै ब्रह्मास्त्र भारतमा अहिलेसम्मकै सबभन्दा धेरै लगानीमा बन्ने फिल्म बनेको छ।
'ब्रह्मास्त्र'ले प्रदर्शन हुनुभन्दा अगाडि नै कीर्तिमान राखेको छ। यो फिल्म वाल्ट डिज्नी स्टुडिओ पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा परेको छ। यस सूचीमा पर्ने यो नै पहिलो भारतीय फिल्म हो। ग्लोबल रिलिज क्यालेन्डरमा परेसँगै फिल्म आउँदो सेप्टेम्बर ९ तारिखमा विश्वभरबाट एकसाथ प्रदर्शनमा आउदैछ।
फक्स स्टार स्टुडिओ र धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा प्रदर्शन हुनेछ।