विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ - झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। 

गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यस वर्षदेखि दीर्घरोगी विपन्न परिवार छानीछानी बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए। स्वास्थ्य स्यम्सेविका परिचालन गरेर पालिकाका ३१८ त्यस्ता रोगीको पहिचान गरिएको छ। उनीहरूको परिवारका पाँचजनासम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको उनको भनाइ थियो।

दीर्घरोगी वडा नंं ४ का ७५ वर्षीय सागिर मियाँले आर्थिक अभावले विगतमा स्वास्थ्य बीमा गर्न नसकेकामा  पालिकाले गरिदिएको बीमाले अब वर्षभर औषधि ल्याएर खान सहज भएको जानकारी दिए। पाँचजना परिवारको अभिभावक उनी उच्च रक्तचाप, मधुमेह र छालाको रोगले पीडित छन्। अर्काको घरमा दैनिक मजदूरी गर्दै आएका मियाँले यसअघि महिनामा  रु. पाँच सयबराबरको औषधि किनेर नियमित खानु परिरहेको बताए। सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी  झापा गाउँपालिका–४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक रु दुई हजार जति औषधि उपचारमा खर्च गर्दै आएकामा अब निःशुल्क हुने भएपछि खुशी भएका छन्।

पालिकाले पठाएका स्वास्थ्य सेविकाले बिरामीको आर्थिक अवस्था, उपचार गराइरहेको अस्पतालको प्रतिवेदन र रोगको प्रकृति हेरेर स्वास्थ्य बीमा गराउने परिवारको छनोट गरेका पालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए। “पालिकामा दीर्घरोगीको सङ्ख्या धेरै नै छ तर हामीले श्रमिक र विपन्न वर्गका परिवारलाई स्वास्थ्य बीमाका लागि छानेका छौँ,” उनले भने, “आर्थिक हैसियत हुनेले आफै रकम तिरेर बीमा गर्न सकिहाल्छन् र उपचार गराउन खर्च पनि गर्न सक्छन्।”

विगत १६ वर्षदेखि मधुमेह र उच्च रक्तचापको औषधि नियमित सेवन गरिरहेका वडा नं ६ का ५८ वर्षीय मनबहादुर विश्वकर्माले आफ्नो पालिकाभित्रका रोगी र बुढापाकाको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएकोमा स्थानीय सरकारप्रति आभार प्रकट गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×