अवैध लागूऔषधसहित विभिन्न पाँच ठाउँबाट आठ जना पक्राउ

काठमाडौं - अवैध लागूऔषध सहित सिन्धुलीबाट ३ जना, पर्साबाट १ जना, महोत्तरीबाट २ जना, तनहुँबाट १ जना र कैलालीबाट १ जना गरी जम्मा ८ जना पक्राउ परेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ५ ग्राम ९ सय ६० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट तार्केश्वर नगरपालिका–७ बस्ने २२ वर्षीय भरत रिमाल र खोटाङ खोट्टेहाङ गाउँपालिका–५ बस्ने २३ वर्षीय बिपिन मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले बा.५ ख ३१४९ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै सवारी साधन र चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चौकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्रामसहित बारा परवानीपुर गाउँपालिका–५ बस्ने २० वर्षीय युवराज सिंहलाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सिंहलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरीको सम्सी गाउँपालिका–५ देवीस्थानबाट अवैध लागूऔषध गाँजा करिब २ सय ९० केजीसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–७ बस्ने २५ वर्षीय लिला बहादुर थिङ र हेटौंडा उपमहानगरपालिका–१३ बस्ने राजेश घलान रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको ना.०५ ख ९७११ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिटको पछाडि लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी चालक लिला र सहचालक राजेशलाई पक्राउ गरेको हो ।

तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्रामसहित पर्सा पर्सागढी नगरपालिका–९ बस्ने १९ वर्षीय राहुल पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय आबुखैरेनिबाट खटिएको प्रहरीले ग.२ ख ००९८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–५ गेटी बस्ने २८ वर्षीय नबिन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २७० मिलिग्राम र डिजिटल तराजु १ थानसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई कोठाबाट उक्त पदार्थ र तराजुसहित फेला पारी पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×