काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा हालसम्म ३ सय ८० मत खसेको छ।
पार्टीको १४औँ महाधिवेशन अन्र्तगतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन्। मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा. रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन्। अन्य नेता भने भोट हाल्न लामबद्ध भएको देख्न सकिन्छ। एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रियसभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ।
दिउँसो १ः३० बजेसम्म राष्ट्रियसभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत गरी जम्मा ३८० मत खसेको निर्वाचन समितिले जनाएको हो।