स्थानीय प्रशासनद्वारा सिरहामा दुई दिन निषेधाज्ञा जारी

सिरहा । स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । डा सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहानदेखि भोलि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै पूर्वमा बलानखोलाबाट पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासको क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए । सिरहाको चोहर्वाबाट सिरहा सडकखण्डको पिकेराज इन्टरप्राइजेज  पेट्रोल पम्पसम्म तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्व–पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ कवारीको विज्ञप्तिमा उल्लेख छ ।

जनमत पार्टीले केही दिनअघिदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी आज बिहान ५ देखि भोलि बेलुका ७ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२० र ९३) बमोजिम देहायका क्षेत्रहरूमा निषेधाज्ञाको आदेश जारी गरिएको प्रजिअ कवारीले बताए ।

सो अवधीभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सुचारु रहने र आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने समेत विज्ञप्तीमा उल्लेख छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×