एजेन्सी। बङ्गलादेशका लागि अमेरिकी राजदूत अर्ल आर मिलरलाई देशको अपराध विरोधी सशक्त बल ‘¥यापिड एक्शन बटालियन’ (आरएबी)का अधिकारीहरूमाथि वासिङ्टनले लगाएको प्रतिबन्धबारेमा सोधपुछ गरिएको बङ्गलादेशका विदेश सचिव मसुद बिन मोमेनले शनिबार बताएका छन्।
अमेरिकी ‘ट्रिजरी’ विभाग र विदेश विभागले शुक्रबार मानवअधिकारको गम्भीर दुरुपयोगको आरोपमा सात जना भूतपूर्व तथा वर्तमान आरएबी अधिकारीहरू र एउटा संस्थाको रूपमा आरएबीसमेत प्रतिबन्ध लगाएको बताइएको छ। विदेश सचिवले बङ्गलादेश सरकारसँग कुनै पूर्व परामर्श बिना अमेरिकी प्रशासनले यो निर्णय एकपक्षीय रूपमा लिएकोमा बङ्गलादेशले चासो व्यक्त गरेको विदेश मन्त्रालयद्वारा शनिबार जारी बयानमा बताइएको छ।
उनले प्रतिबन्ध लगाउनका लागि उल्लेख गरिएका विषयहरु दुई पक्षबीच नियमित संस्थागत वार्ताको ढाँचाअन्तर्गत समेत सक्रिय छलफलका क्रममा रहेको र अझै पनि अमेरिकी निर्णय कुनै पूर्व सूचना बिना नै आएको बताए।
मोमेनले बङ्गलादेश सरकार कानुन र मानव अधिकारको शासनलाई कायम राख्न प्रतिबद्ध रहेको र यसका कानून प्रवर्तन निकायहरूले गरेको कुनै पनि गलत कार्य वा गलत कार्यप्रति ‘शून्य सहिष्णुता’ को दृष्टिकोण कायम राखेको कुरामा जोड दिए। उनले वार्ता, सहभागिता र सहयोगमार्फत समस्याको समाधान गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।
यसैबीच भेटमा मिलरले आफ्नो तर्फबाट आपसी हितका विषयमा बंगलादेशसँग निकट रहेर काम गर्न अमेरिकी सरकार इच्छुक रहेको बताएको बुभिएको छ।