काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले सरकारले राजनीतिक सहमतिका आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए ।
मन्त्रिपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानूनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका राजनीतिक दलको मात्र नभई नेपालको भएको मन्त्री पुनको भनाइ थियो । उनले सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने उल्लेख गरे ।