काठमाडौं - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद्मा अवरोध गर्न थालेपछि मंगलबारको बैठक सुचारु गर्ने विषयमा छलफल गर्न शीर्ष नेताहरुलाई बोलाएका हुन्।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ।
नेपाली कांग्रेसले सहकारीको रकम अपचलन गरेको आरोपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको छ।
कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति नबनाए संसद् बैठक चल्न नदिने अल्टिमेटम दिइसकेको छ।
सभामुखले आज दिउँसाे २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । यसअघि विहान १० बजेलाई बैठक बाेलाइएकाे थियाे ।
उक्त समय सरेर २ बजेलाई बाेलाइएकाे सचिवालयले जनाएकाे छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरवारमा हुनेछ ।