काठमाडौँ - चर्चित दक्षिण भारतीय अभिनेत्री साई पल्लवीविरुद्ध उजुरी दर्ता भएको छ। उनले केही दिनअघि काश्मिरी पण्डित र गाई हत्यामाथि दिएको बयानलाई लिएर पल्लवीविरुद्ध उजुरी दर्ता भएको हो।
आफ्नो नयाँ चलचित्र ‘विराट पर्वम्’ को प्रमोसनमा व्यस्त अभिनेत्रीले प्रमोसनकै क्रममा दिएको पछिल्लो अन्तवार्तामा दिएको बयानपछि पल्लवी विवादमा तानिएकी हुन्। यो विवादले कानुनी मोड लिएसँगै बजरंग दलले हैदराबादको सुल्तान बजार प्रहरी चौकीमा साई पल्लवीविरुद्ध उजुरी दर्ता गराएका हुन्।
सामाजिक सञ्जालमा पनि यतिबेला यो विवाद उत्कर्षमा पुगिसकेको छ। फ्यान मात्रै नभएर इन्डस्ट्रीभित्रकै व्यक्तिहरू पल्लवीको पक्ष र विपक्षमा उभिएका छन्। यो विवाद तब जन्मियो जब अन्तर्वार्ताको क्रममा पल्लवीलाई ‘द काश्मीर फाइल्स’लाई लिएर प्रश्न गरियो।
आफ्नो बयानमा पल्लवी भन्छिन्, 'चलचित्रमा ९० को दशकमा काश्मिरी पण्डितहरूको नरसंहारलाई चित्रण गरेको छ। त्यसो भए उक्त घटनाको के कुरा त जब गाईले भरिएको ट्रक बोकेका मुस्लिम चालकलाई कुटपिट गरी जय श्री रामको नारा लगाइयो। धर्मलाई कसरी हेर्नुहुन्छ? काश्मिरी पण्डितहरूको नरसंहार र मोब लिन्चिङमा कुनै भिन्नता छैन।'
उनले आफू सबैलाई एउटै नजरबाट हेर्ने परिवारमा जन्मिएको भन्दै राइट र लेफ्ट विंगमा विश्वास नगर्ने बताकी थिइन्।