काठमाडौँ । नेपालमा अहिले स्थानीय वायु र देशको पूर्वी भू–भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ ।
कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।