भारत। भारतीय हास्यव्यंग्य कलाकार सुनील ग्रोभरको स्वास्थ्यसँग सम्बन्धित एक खबर बाहिरिएको छ। लोकप्रिय भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा साे’मा ‘गुत्थी’ र ‘डाक्टर मसूर गुलाटी’ जस्ता भूमिकामा देखिने गरेका उनको मुम्बईस्थित एसियन हर्ट इन्स्टिच्युटमा मुटुको शल्यक्रिया भएको छ। खबरका अनुसार पहिल्यै गर्नुपर्ने शल्यक्रिया कामका कारण ढिलो भएको हो।
विरल भयानीले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन्। उनले सुनीलको तस्विरसँगै लेखेका छन् "अभिनेता सुनील ग्रोवरको मुम्बईको एसियन अस्पतालमा मुटुको शल्यक्रिया गरिएको छ। उनी अहिले निको भइरहेका छन्। डाक्टरहरूले उनी अहिले खतरामुक्त रहेको र उनको स्वास्थ्यमा पनि धेरै सुधार भइरहेको बताएका छन्। सुनिलका लागि प्रार्थना गर्नुहाेस्।’