दक्षिण कोरियालाई हराउँदै चीनले जित्यो ९ पटक महिला एसियन कप फुटबलको उपाधि

काठमाडौँ- दक्षिण कोरियालाई हराउँदै चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ। भारतको मुम्बईमा आइतबार साँझ भएको फाइनलमा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै चीनले दक्षिण कोरियालाई हराउँदै नवौं पटक उपाधि जितेको हो।

पहिलो हाफमा दुई गोलले पछि परेको स्थिति उल्टाएर उत्कृष्ट पुनरागमन गर्दै चीनले दोस्रो हाफमा तीन गोल फर्काएको थियो। डीवाई पाटिल स्टेडियममा भएको खेलमा चीनलाई जिताउन जियाली ताङ, लियान झाङ र युयी सियाओले गोल गरे। कोरियाका लागि चोई युरी र जी सोयुनले गोल गरेका थिए।

खेलको २७ औं मिनेटमा चोई युरीले गोल गर्दै दक्षिण कोरियालाई सुरूआती अग्रता दिलाएकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा जी सोयुनले पेनाल्टीमार्फत गोल गर्दै दक्षिण कोरियालाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएकी थिइन्। तर कोरियाले दोस्रो हाफमा अग्रता कायम राख्न सकेन।


खेलको ६८ औं मिनेटमा जियाली ताङले पेनाल्टीमा गोल गर्दै चीनलाई खेलमा फर्काईन्। ७२औं मिनेटमा लिनयान झाङले गोल गरेपछि चीनले खेल २-२ को बराबरीमा पुर्‍यायो। त्यसपछि युयीले खेलको इन्जुरी समयमा गोल गर्दै चीनलाई ३-२ को उत्कृष्ट जित दिलाइन्। चीनले सर्वाधिक ९ पटक उपाधि जितेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×