काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँ उपत्यकामा युवाहरूको आन्दोलनका क्रममा क्षति पुगेको ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उच्च मनोबलका साथ काममा खटिन प्रहरीलाई आग्रह गरेका छन्।
मंगलबारको निरीक्षणमा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगायतले कार्यालयको अवस्थाबारे जानकारी दिएका थिए।
गृहमन्त्री अर्यालले क्षतिग्रस्त भवनबाटै सेवा सुरु गर्न निर्देशन दिँदै सरकारका तर्फबाट पूर्ण सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए। उनले शान्ति सुरक्षा, सुशासन र निर्वाचनमा निष्पक्षता सुनिश्चित गर्न सरकारले गम्भीर रहेको र छिट्टै सबै कुरा सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गरे।
जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ। कार्यालय परिसरमा रहेका सवारीसाधन पनि आगोले क्षतिग्रस्त भएका थिए।
यस निरीक्षणले सरकार र प्रहरीबीच समन्वय बढाउने र सामान्य सेवामा शीघ्र फर्किन सहयोग गर्ने आशा गरिएको छ।