बागलुङ - बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ। पार्टी कार्यालयका लागि कांग्रेस बागलुङले छोटो समयमै घडेरी व्यवस्थापन गरिसकेको छ। १४ औँ महाधिवेशनपश्चात सभापति जीतबहादुर शेरचनले निर्वाचनपछि आफ्नै पार्टी कार्यालय बनाउने घोषणा गरेका थिए।
अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउने अभियान अन्तर्गत बागलुङ नगरपालिका–३ नारायणचोकमा १४ आना जग्गा व्यवस्थापन भइसकेको र भवन निर्माणका लागि सहयोग सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताए।
शेरचनले रु दुई करोड पाँच लाखमा जग्गा खरिद गरेर भवन निर्माणको लागि नक्शाको काम भइरहेको बताए। सुविधा सम्पन्न पार्टी कार्यालय बिपी स्मृति भवन निर्माणका लागि अहिले नेपाली कांग्रेसका नेता तथा शुभेच्छुकहरुले धमाधम सहयोग प्रदान गरिराखेका छन्। शेरचनले सुविधा सम्पन्न भवन निर्माणका लागि पाँच करोड खर्च अनुमान गरिएको बताए।
जग्गा खरिदसहित भवन निर्माणका लागि पार्टीले अहिलेसम्म विभिन्न व्यक्तिबाट रु ३० लाख सङ्कलन गरिसकेको छ। कांग्रेस बागलुङले जग्गा खरिद, भवन निर्माण र कार्यालय सञ्चालनका लागि कोष निर्माण गर्न भन्दै आफूहरुको रु १० करोड उठाउने लक्ष्य रहेको जनाएको छ।
“कांग्रेसका धेरै नेता, कार्यकर्ता र शुभेच्छुकहरुले उत्साहजक रुपमा पार्टीको भवन निर्माणका लागि सहयोग गरिराख्नुभएको छ, छोटो समयमै रु ३० लाख बढी रकम सङ्कलन भइसकेको छ”, सभापति शेरचनले भने, “ १० करोड उठाउने लक्ष्य छ, सबेले सहयोग गर्छौं भनिरहेका छन्, उठेको रकममध्ये जग्गा व्यवस्थापन र भवन निर्माण पश्चात बाँकी रहेको रकम पार्टी व्यवस्थापनमा खर्च गरिनेछ।”
पार्टी कार्यालयको लागि १० आनामा भवन बन्ने छ। भवन ६ तलाको बन्ने सभापति शेरचनले बताए। उहाँले दुई वर्षमा पार्टीको कार्यालय निर्माण भइसक्ने बताए। अहिले बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोक नजिकै घर भाडामा लिएर पार्टीको कार्यालय सञ्चालन गरिदै आएको छ। कार्यालय सञ्चालनका लागि पार्टीले मासिक २० हजार घर भाडा तिर्दै आएको छ। भवन सभाहलसहितको हुनेछ।