तनहुँ। जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित च्याचुल गाउँमा खानेपानी सुविधा पुगेको छ। वर्षौँदेखि खोला र कुवाको खानेपानी उपयोग गर्दै आएका यहाँका स्थानीयवासीलाई स्वच्छ खानेपानी सुविधा पुर्याउने उद्देश्यसहित गाउँपालिकाले खानेपानी योजना निर्माण सम्पन्न गरेको हो। समुद्र सतहबाट एक हजार ५० मिटर उचाइमा अवस्थित च्याचुल गाउँमा अलैँची खानेपानी योजना निर्माण सम्पन्न गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए। गाउँपालिकाको रु ६२ लाखको लागतमा निर्माण सम्पन्न गरिएको योजनाबाट ४६ घरधुरीमा खानेपानी विस्तार गरिएको छ। गत वर्षबाट निर्माण सुरु गरिएको खानेपानी योजना कोरोना त्रासका कारण केही समय ढिलाइ भएको थियो। “कोरोना त्रास न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीमा पनि उपभोक्ताबाट निरन्तर काम भएको थियो”, उनले भने, “घरघरमै खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुशी छन्।” घरघरमै धारा जडान भएको खुशीयालीमा स्थानीयवासीले नाचगानसमेत गरेका छन्। घरघरमा धारा नहुँदा यहाँका स्थानीयवासी खानेपानीका लागि कुँवा र पँधेराको भर पर्नुपथ्र्यो। खानेपानीको जोहोका लागि बिहानैदेखि स्थानीयवासीलाई चिन्ता हुन्थ्यो। घरमै धारा पुगेपछि यहाँका स्थानीयवासीलाई अब उक्त चिन्ता हटेको छ। खानेपानी योजनाको मङ्गलबार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी पुर्याउने योजना साथ अगाडि बढेको बताए। खानेपानी सुविधा नपुगेका ठाउँमा एक घर : एक धारा अभियान सञ्चालन गरिएको रानाले बताए। गण्डकी प्रदेश सरकार, गाउँपालिका, निर्वाचन क्षेत्र विकास कार्यक्रम, पश्चिम नेपाललगायतको सहयोगमा खानेपानी सुविधा नपुगेका गाउँबस्तीमा खानेपानी पुर्याउने अभियान सञ्चलन गरिएको छ। हालसम्म गाउँपालिकाका एक हजार ७०० घरधुरीमा एक घर : एक धारा अभियान सम्पन्न भएको छ। करिब ४५० घरधुरीमा एक घर : एक धारा अभियान सम्पन्न हुने चरणमा रहेको छ। घिरिङ गाउँपालिका–१ स्थित गढिपल्लो गाउँ, पोख्रेलटोल, लामादी खापा पुट्टार, जगौली र पुत्गाउँमा खानेपानी सुविधा पुगिसकेको छ भने कटहरे, बैडी, भन्सार, अत्रौली, पुट्टारमा खानेपानीको काम भइरहेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँचवटा योजना निर्माणाधीन अवस्थामा छन्। स्किम–१ अन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार ११९, स्किम–२ अन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, स्किम–३ अन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, स्किम–४ अन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र स्किम–५ अन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुनेछ। बृहत् खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुनेछन् । डिभिजन खानेपानी कार्यालयका अनुसार स्किम–१ बाट कटहरेका ८६, स्किम–२ अन्तर्गत पुट्टारका ८५, स्किम–३ अन्तर्गत बैडीका २४२, स्किम–४ अन्तर्गत भन्टारका ३९ र स्किम–५ अन्तर्गत अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन्। सबै खानेपानी योजनामा स्थानीयवासीले १० प्रतिशत श्रमदान गर्नुपर्नेछ। सबै योजनाको सम्पन्न गर्नुपर्ने म्याद विसं २०७९ असार २४ सम्म रहेको छ। घिरिङ–२ स्थित देउराली, छानुङ, आरामकोट, बोहोछाप, दुम्कोट, घुर्लीछाप, माहोरकोट, कोलडाँडा, घ्याछाप, फलानठाँटी, काठेकोट, छानुङमानुङ, गजरकोटमा प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ। सोही वडाको भोरकोटामा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छ। घिरिङ–३ स्थित काफलडाँडा, सिलिङखोला, लामोचौतारी, बाहुनचौतारी, घिरिङ हटिया, गैराथोक, डाँडाथोक, आर्चमबासमा प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुगेको छ भने नेवापानी, पोखरीछापमा निर्माणाधीन छ। घिरिङ–४ स्थित कोटसाभुङ, धाब्दी, बट्यौलीटारमा घरघरमा खानेपानी पुगिसकेको र रामकोट, ठामडाँडा, फूला सिफ्लुङ, करुवाटार, पुर्कोटमा सम्पन्न हुने चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।