काठमाडौँ - धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा पुरुष खुलातर्फ अर्हान्तकेशर सिंह र अमृत थापामगरले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
अर्हान्तकेशरले अमिर ब्लोनलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्। अर्को सेमिफाइनलमा अमृतले दीपक थापालाई ३-० कै सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।
शुक्रबार सम्पन्न सेमिफाइनलमा महिला खुलातर्फ विपना ब्लोनले उदीयमान खेलाडी स्वस्थानी श्रेष्ठलाई ३-० ले हराइन्। उनले अब कृष्णा थापासँग प्रतिस्पर्धा गर्नेछिन्। दोस्रो सेमिफाइनलमा कृष्णाले भावना सुनुवारलाई ३-० कै सेटमा हराएकी थिइन्।
ब्वाइज यू-१९ स्पर्धामा विकास मगरले पासाङ लामालाई ३-१ ले हराएका थिए। विकासले अब उपाधिका लागि गोपाल थापासँग प्रतिस्पर्धा गर्नेछन्। गोपालले सलिम थापामगरलाई ३-० ले हराउँदै फाइनलमा स्थान बनाएका हुन्।
५० वर्षमाथि उमेर समूहको मास्टर्स खुला स्पर्धाको उपाधिका लागि प्रज्वलप्रकाश प्रधान र सुदीपबहादुर सिंहले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रज्वलप्रकाशले धीर पुनलाई ३-१ को सेटमा हराएका थिए। त्यस्तै सुदिपबहादुरले दीलिप अधिकारीलाई ३-० को सेटमा हराएका थिए।
प्लेट च्याम्पियनसिपको उपाधिका लागि भने रामकृष्ण महर्जन र उदीयमान खेलाडी प्रयाग जोशीबीच प्रतिस्पर्धा हुनेछ।