एजेन्सी। आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ। बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको पनि जानकारी दिएको छ। अधिकारीहरुले वार्ता आइतबार नै गराउने प्रयास भएको भएपनि तयारी पुरा नभएको र पर्याप्त वातावरण नबनेकाले वार्ता हुन नसकेको उल्लेख गरेका छन्।
रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौ दिनमा वार्ता हुन लागेको र त्यसका लागि दुवै तर्फका प्रतिनिधिहरु आउदै गरेको बेलारुसको भनाई छ। यसअघि वार्ताका लागि तयार नभएको युक्रेनले अहिले भने प्रतिनिधि पठाउन तयार भएको छ। दुवै देशको छिमेकी बेलारुसमा वार्ता हुन लागेको हो।
रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो। “रुस र युक्रेनका बीचमा वार्ता गराउन सवै तयारी पुरा भएको छ, हामी दुवै देशका प्रतिनिधिहरुको प्रतिक्षामा छौँ, आशा छ उहाँहरु आउनु हुनेछ र वार्ता पनि सकारात्मक हुनेछ,” बेला रुसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ।
वार्ताका लागि तयार पारिएको ठाउँमा राखिएको लामो टेवल र केही कुर्सी सहितको फोटो पनि मन्त्रालयले सार्वजनिक गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका छन्। उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिए।