काठमाडौँ - भारतमा जारी साफ यू -२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो।
श्रीलंकाविरुद्ध हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजेबाट हुनेछ। पहिलो खेलमा सुखद सुरुवात गरेको नेपालले दोस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ।
साथै श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशका साथ बलियो आधार बनाउन चाहन्छ। यस अघि सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो।
तर, यता, श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० गोल अन्तरले पराजित भएको थियो। च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।
नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन्।