नवलपुरका सबै मतदानस्थलमा मतपत्र पुग्यो 

नवलपुर - नवलपरासीपूर्व नवलपुरका सबै मतदानस्थलमा मतपत्र पुगेको छ। स्थानीय तह निर्वाचनका लागि सबै मतदानस्थलमा मतपत्रलगायत आवश्यक सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताए।

जिल्लामा रहेका ११३ मतदानस्थलका २९९ मतदान केन्द्रमा आवश्यक पर्ने मतपत्र, मतपेटिकालगायत सामग्री पुगेको उनले बताए। नवलपुरको पहाडी क्षेत्र तथा यातायातका हिसाबले विकट मानिने मतदानस्थलमा समेत मङ्गलबार रातिसम्ममा मतपत्र, मतपेटिक पुगेको शर्माले बताए।

जिल्लामा रहेका मतदानस्थलमध्ये १० वटा मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको छ। भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, ‘रेस्पोन्स टाइम’, सामाजिक संरचना आदिका आधारमा जिल्लाका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ। यहाँ ३८ मतदानस्थललाई संवेदनशीलमा राखिएको छ भने ६५ वटा मतदानस्थललाई सामान्यमा राखिएको छ।

निर्वाचन आयोगको तथ्याङ्कानुसार नवलपुरमा २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या दुई लाख ५४ हजार ६१५ रहेको छ। जसमा पुरुष एक लाख २१ हजार ३८, महिला एक लाख ३३ हजार ५७३ र अन्य चार जना मतदाता रहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×