नेपालले आज क्यानडासँग पहिलो एक दिवसीय श्रृङ्खला खेल्दै

काठमाडौँ - नेपालले आज एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली क्यानडाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति पौने ९ बजेबाट किङ्ग सिटीस्थित मेफल लिफ मैदानमा हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग आज र भोलि २ खेलको एक दिवसीय श्रृङ्खला खेल्नेछ।

क्यानडाले साद बिन जाफरको कप्तानीमा हिजो १४ सदस्यीय टोलीको घोषणा गरेको छ। यसअघि क्यानडा पुगेको नेपाली टोलीले स्थानीय क्लब ओन्टारियोसँग दुई अभ्यास खेल खेलिसकेको छ। नेपालले ओन्टारियोलाई टी-२० अभ्यास खेलमा ५५ रन र एकदिवसीय अभ्यास खेलमा ६९ रनले हराएको थियो।

नेपाल क्यानडालाई हराउँदै सिरिजमा विजयी सुरुवात गर्ने सोचमा छ। क्यानडा पनि आज जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ। एकदिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेल बुधबार हुनेछ। क्यानडामा २ एक दिवसीय खेलपछि नेपाल स्कटल्यान्ड जानेछ। नेपालले स्कटल्यान्डमा विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय १ दिवसीय श्रृङ्खला खेल्नेछ। नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्नेछ।

अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक खेलमा बराबरीका साथ १५ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×