काठमाडौँ - मोइस किनको निर्णायक गोलप्रेरित युभेन्टसले इटालियन सिरी ‘ए’मा बिहीबार राति भेरोनालाई ०-१ को नतिजामा पराजित गरेको छ। भेरोनाको मैदान मार्कान्टोनियो बेन्टेगोडीमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
घरेलु टिममाथि हाबी बनेको युभेन्टसका लागि ६०औं मिनेटमा किनले गरेको १ मात्र गोल निर्णायक बन्यो। एड्रियन राबियोटले दिएको पासमा किनले गोल गर्दै युभेन्टसका लागि ३ अंक जोड्न सफल भए।
इन्जुरी समयमा रातो कार्डको सामना गर्दै एलेक्स सान्ड्रो मैदानबाट बाहिरिएपछि युभेन्टस अन्तिम समयको केही मिनेटका लागि १० जनामा सीमित भएको थियो।
जितसँगै १८ खेलमा २८ अंक जोडेको युभेन्टस लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट ५ अंक मात्रै जोडेको भेरोना तालिकाको पुछारमा रहेको छ।