सेनाले पृथ्वी जयन्तीमा पदयात्रादेखि चित्रकलासम्म आयोजना गर्दै

काठमाडौँ। नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ। प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिको शालिकमा माल्यार्पण, सलामी र सम्मान अर्पण गर्नेछन्। सेनाले मुलुक एकीकरणका अभियन्ता सम्मानमा एकता दिवसका अवसरमा यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख/रचना प्रतियोगिता आयोजना गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले विसं १७९९ चैत २५ गते राजा भएसँगै नेपाल एकीकरण अभियान सुरु गरेका थिए। सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा विगत केही वर्षदेखि पृथ्वी जयन्तीका अवसरमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’ गर्दै आएको छ। नेपाली सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भई धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २७ गते हनुमानढोका आइपुग्ने छ। त्यसलगत्तै हनुमानढोकाबाट राष्ट्रनिर्माताको तस्वीर बग्गीमा राखेर नगर परिक्रममा गरिनेछ। नगरपरिक्रमा एकीकरण पदयात्रा टोली, शार्दुलजङ्ग गुल्म, सेनाका सकल दर्जा तथा राष्ट्रिय सेवा दलका क्याडेट सहभागी रहने छन्। त्यसपछि पदयात्रा टोली सैनिक मुख्यालयमा हुने कार्यक्रममा सहभागी हुनेछ। सेनाले प्रत्येक कमाण्डबाट छनोट भई आएका प्रतियोगी सहभागी गराई सैनिक मुख्यालयमा पृथ्वी जयन्तीका अवसरमा पुस २० गते कविता, २१ गते चित्रकला र २५ गते लेखरचना प्रतियोगिता गर्नेछ। पुस २७ गते प्रत्येक सैनिक महाविद्यालय र विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको टिम बनाएर हाजिरी जवाफ प्रतियोगिता गर्ने जानकारी दिइएको छ। सोही दिन जङगीअड्डा परिसरमा वडामहाराजाधिराजको दिव्योपदेश प्रवचन र नेपाल एकीकरण अभियानसँग सम्बन्धित ‘नालापानी’ सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिने छ। आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उहाँले दिनुभएको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ। ती दिव्योपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र सस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन्। प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हर्षाेल्लासका साथ मनाइँदै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×