द्रुत परिवर्तित संसारमा व्यक्तिगत रूपान्तरण

कास्की - पोखरा विश्वविद्यालयको रजत जयन्तीका अवसरमा ‘द्रुत परिवर्तित संसारमा व्यक्तिगत रूपान्तरण’ विषयक प्रशिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा आयोजित कार्यक्रमको प्रमुख प्रशिक्षकमा आध्यात्मिक चिन्तिकद्वय डा चिन्तामणि नाथ योगी तथा प्रा डा विशाल सिटौला थिए।

सो अवसरमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले व्यक्तिगत तथा सामाजिक रूपान्तरणका लागि व्यक्तिमा चिन्तन, मनन हुनुपर्नेमा जोड दिए। रूपान्तरणका लागि मन छुनुपर्ने उल्लेख गर्दै उनले प्राज्ञिक थलोमा मैले के गर्दैछु भन्ने कुरा बुझेर मात्र अगाडि बढ्न सबैलाई आग्रह गरे।

विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारीले जीवनोपयोगी कुरालाई समयमा नै सिक्नुपर्ने बताउँदै व्यक्तिले समयानुसार सोचाइमा परिवर्तन गर्दै ज्ञानलाई अद्यावधिक गर्दै जानुपर्नेमा जोड दिए। व्यक्तिगत कमी–कमजोरी, गुण–अवगुण सबैमा हुने तर तिनको समयमै पहिचान गरी अगाडि बढ्नुपर्नेमा उनको जोड छ।

कार्यक्रमका प्रमुख प्रशिक्षक डा योगीले पोखरा विश्वविद्यालयमा सबैको अपनत्व रहेको उल्लेख गर्दै यहाँ सबैको सिर्जना, साधना र आत्मियता रहेको बताए। उनले यहाँ बोलिने र लेखिने कुराको गहिरो महत्व रहेको जनाउँदै विश्वविद्यालय सुधार्न सबै सकारात्मक हुनुपर्ने आवश्यकता औँल्याए। डा योगीले व्यक्तिले आफ्नो जीवनको नक्सा आफैँ बनाउने हो भन्दै यसो गर्न नसके उसमा परिवर्तन हुनै नसक्ने बताए।

सुन्दर मानव जीवनलाई खुम्चाएर नभई फुकाएर, बेखुसी भएर नभई खुसी भएर, हारेर नभई जितेर जिउनुपर्ने उनको तर्क थियो। अर्का प्रशिक्षक प्रा डा सिटौलाले पोखरा विश्वकै सुन्दर पर्यटकीय सहर भएको र यसको भ्रमणका लागि युरोपियनहरू सपना देख्ने गरेको उल्लेख गरे। व्यक्तिगत रूपान्तरणबिना समाज र देश नबन्ने भन्दै उहाँले मानिसले आफ्नो बानी, आदत बदल्नुपर्ने बताए।

परिवर्तनका लागि मानिसमा जागरूकता, करूणा, सहानुभूति, सेवाभाव, असल नियत र इच्छाशक्तिजस्ता गुणहरू आवश्यक रहेको उनको भनाइ छ। पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख सह प्रा डा दीपकराज पौडेल तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा नमराज धामीले व्यक्तिगत रूपान्तरणको महत्वका बारेमा प्रकाश पारेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×