नेपाल इञ्जिनीयर्स एशोसियशन बागमती प्रदेशमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल (सिडेन) को समूह विजयी भएको छ। बागमती प्रदेशका तीन स्थानमा मतदान केन्द्र राखी भएको निर्वाचनको मतगणना मङ्गलबार राति सकिएको थियो।
मतपरिणाम अनुसार प्रदेश सभापति पदमा लोकतान्त्रिक समूहका रोहिणी पौडेल विजयी हुनुभएको प्रदेश निर्वाचन समिति संयोजक कमल कार्कीले राससलाई जानकारी दिए। प्रदेश समितिका पदाधिकारी र सदस्यमा पनि सबै लोकतान्त्रिक समूहबाट नै विजयी भएका छन्। उपसभापतिमा सुरेन्द्र केसी, सचिवमा दिनेश न्यौपाने, सहसचिवमा डा विजय थापा, कोषाध्यक्षमा विपीन भुसाल विजयी भएका हुन्। सदस्यहरुमा ओशन थापा मगर, प्रमोद महत, प्रह्लाद बस्नेत, रोहित पौडेल, चिरञ्जीवी खतिवडा, वृजेश सिंह, गौरव पौडेल, दिराज थापा, राकेश भट्टराई र प्रवीण छेत्री विजयी भएका छन्।
निकटतम् प्रतिद्वन्द्वीमा (नेकपा समाजवादी) निकटलगायत गठबन्धनको प्रगतिशील इञ्जिनीयर्स एशोसियशनका विनोद सापकोटाको समूह आएको निर्वाचन समिति संयोजक कार्कीले बताए। सबै पदाधिकारी र सदस्यको तीनै वटा मत गणनास्थलबाट प्राप्त मत जोडेर आज निर्वाचन परिणाम घोषणा गर्ने तयारी भएको प्रदेश निर्वाचन समितिले जनाएको छ।