काठमाडौँ - निकोलो बारेल्ला र लोरेन्जोपेलेग्रिनीको गोलमा युरोपियन च्याम्पियन इटालीले यूईएफए नेसन्स लिगमा मंगलबार राति हंगेरीलाई २–१ ले हराएको छ।
नेसन्स लिगमा जारी सिजनमा इटालीले पहिलो जित निकालेको हो। इटालीले यसअघि जर्मनीसँग १–१ को बराबरी खेलेको थियो। जितसँगै इटाली यूईएफए नेसन्स लिग ‘ए’को समूह–३ को शीर्ष स्थानमा रहेको छ। इटालीले दुई खेलबाट ४ अंक जोडेको छ। तीन अंक जोडेको हंगेरी दोस्रो स्थानमा रहेको छ।
फिफा विश्वकपमा स्थान बनाउन असफल इटालीले घरेलु मैदानमा बारेल्लाको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा पेलिग्रिनीले इटालीको अग्रता दोब्बर बनाएका थिए।
६१औं मिनेटमा जियानलुका मान्सिनीले गरेको आत्मघाती गोलमा हंगेरीले पुनरागमन गर्ने प्रयास गरेको थियो। तर, सफल भने हुन सकेन। हंगेरीले यसअघि इङ्ल्यान्डलाई १–० ले हराएको थियो।