एलेनको शतकमा स्कटल्याण्डमाथि न्यूजिल्याण्डको जित

काठमाडौँ - घरेलु टोली स्कटल्याण्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा पाहुना टोली न्यूजिल्याण्ड ६८ रनले विजयी भएको छ। यो जितसँगै उसले २ खेलको सिरिजमा १-० ले अग्रता लिएको छ।

स्कटल्याण्डले सिरिजमा हारबाट सुरुवात गरेको छ। २२६ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाएर १५७ रन मात्र बनायो। उसका लागि कलुम म्याकलिओडले सर्वाधिक ३३, क्रिस ग्रेभ्सले ३१ र जर्ज मुन्सेले २८ रन जोड्दा मार्क वाटले अविजित रहदै १७ रन बनाएका थिए।

न्यूजिल्याण्डका ईश सोधीले ४, मिचेल स्यान्टनरले २ तथा लोकी फर्गुसन र बेन सिर्सले समान १ विकेट लिएका थिए। त्यसअघि इडनबर्गस्थित ग्रेज क्रिकेट क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२५ रन बनाएको थियो।

न्यूजिल्याण्डका ओपनर फिन एलेनले १०१ रनको शतकीय पारी खेलेका थिए। उनले ५६ बलमा ८ चौका र ६ छक्का प्रहार गरेका थिए। मार्टिन गप्टिलले ४०, जेम्स निशमले ३०, ग्लेन फिलिप्सले २३ रन बनाउँदा डेरिल मिचेल २३ रनमा अविजित रहेका थिए।

रिची बेरिङ्टन, क्रिस सोल, हम्जा ताहिर र मार्क वाटले १/१ विकेट लिन सफल भए। न्यूजिल्याण्ड र स्कटल्याण्डबीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×