रोल्पा। स्वर्गद्वारी महाप्रभुको ध्यानस्थल स्वर्गद्वारीको महिमा चुलिँदा उहाँको जन्मस्थल रुन्टी भने बेखबर छ। बाल तपश्वीको नामले प्रख्यात महाप्रभुको कर्मस्थल स्वर्गद्धारी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्थरमा चर्चामा रहदा उनको जन्मस्थल रुन्टी भने अहिलेसम्म बेखबर हुँदै आएको छ। रुन्टीलाई पवित्र धार्मिकस्थल बनाउन सकिने भए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा यो महत्वपूर्णस्थान ओझेलमा परेको हो। रुन्टीलाई मिनी लुम्बिनी बनाउन सकिने सम्भावना रहेको सांस्कृतिक तथा धार्मिक क्षेत्रका अधिकारकर्मीको भनाइ छ। रोल्पाको रुन्टीगढी गाउँपालिकाअन्तर्गत साविक सखी गाविस–९ स्थित रुन्टीमा न्यूनतम पूर्वाधारको समेत विकास नगरिँदा यो स्थल छाँयामा पर्दै गएको स्थानीयवासीको गुनासो छ। दाङ सदरमुकाम घोराहीबाट करिब ३२ किलोमिटर उत्तरमा पर्ने रुन्टीको प्रचारप्रसार र महिमा बढाउनका लागि पछिल्लो पटक स्थानीय तह पुनःसंरचनामा गाउँपालिकाको नाम रुन्टीगढी राखिएको थियो। रुन्टी महाप्रभुको जन्मस्थल र गढी बाइसे चौबिसे राजाले शासन गर्दा गढको रुपमा प्रयोग गरेको लेकलाई जोडेर रुन्टीगढी गाउँपालिका राखिएको सो गाउँपालिका अध्यक्ष बालाराम बुढा बताउछन्। पवित्र धार्मिकस्थल रुन्टी र सामरिक महत्वको स्थान गढीको प्रचारप्रसारका लागि स्थानीय तह नामाकरणका बेला यो नाम राखिएको उनको भनाइ छ। रोल्पा सदरमुकाम लिवाङबाट दक्षिणमा पर्ने रुन्टी होलेरीबजारबाट करिब नौ किलोमिटर पूर्वमा पर्दछ। रुन्टीको धार्मिक महत्वसँगै यस क्षेत्रको प्राकृतिक मनोरमले प्रकृति प्रेमीलाई लोभ्याउने गर्दछ। प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा रहेको स्वर्गद्वारी महाप्रभुले कर्मगरेको स्थानदेखि रुन्टीसम्म करिब पन्ध्र किलोमिटर दूरीे छ। स्वर्गद्वारी तथा रुन्टी धार्मिक क्षेत्र, ऐतिहासिक गढी लेक, त्यस आसपासको मनोरम वन जङ्गल, वन्यजन्तु, हिमालको दृष्यावलोकन, होलेरी बजारको स्वच्छ वातावणका कारण यसक्षेत्र नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र हुने सम्भावना छ। वसन्त ऋतुमा फुल्ने लालीगुराँसको ताँतीले रुन्टी जस्तो पूण्यभूमिको गौरवलाई सुन्दर र समृद्ध बनाउँदै आएको छ। हिन्दू धर्ममा विश्वास गर्नेहरूका लागि रुन्टी एक तीर्थस्थल भएपनि यहाँको विकासका लागि अझैसम्म सरकारी लगानी हुन सकेको छैन। नारायण खत्री अर्थात महाप्रभुको जन्म विसं १९१६ साउन शुक्ल एकादशीको रातमा भएको थियो। पिता अनिरुद्र गौतम खत्री र माता स्वेतकुमारीको पहिलो सन्तान उनै नारायण पछि महाप्रभुका रुपमा प्रकट भए। दैवी शक्तिको अदभूत क्षमता भएका महाप्रभुको त्याग, तपस्या र प्रेरणाले सिङ्गो मानव समुदायलाई सत्कर्ममा लाग्न प्रेरित गर्दछ। उनै तपस्वीले स्वर्गद्वारीमा महायज्ञ आयोजना गरेका थिए। बालक नारायण आफ्नो कर्मले प्रभु, महाप्रभु, बाल तपस्पीका साथै सन्यास ग्रहणपछि स्वामी हंसानन्द गिरीको नामले बाँकी जीवन बिताएको पाइन्छ। यसै गाउँमा अखण्ड वैदिक यज्ञको थालनी समेत गरिएको थियो। महाप्रभु जन्मिएको सो स्थानमा अहिले सानो मन्दिर छ। मन्दिरभित्र उहाँकोे खराउ र मूर्ति राखिएको र स्थानीयवासी उक्त खराउ र मूर्तिमा पूजा गर्ने गर्दछन्। प्रभु जन्मेको घरमा भएका झ्याल प्रयोग गरेर सानो धर्मशाला निर्माण गरिएको छ। धर्मशाला र मन्दिर रहेको ठाउँदेखि करिब ५०० मिटरमाथि महाप्रभुले निर्माण गरेको यज्ञशालाको अवशेष पनि भेटिन्छ। यहाँ उनले ३५ वर्ष बिताएको बताइन्छ। नेपालका महत्वपूर्ण धार्मिक गन्तव्यअन्तर्गत स्वर्गद्वारीको महत्व जति भए पनि रुन्टीका विषयमा भने अहिलेसम्म अधिकांशलाई पत्तो नै छैन। रुन्टीलाई स्वर्गद्वारीको पुरक धार्मिक गन्तव्यको रुपमा विकास गर्न सके यसको महिमा अझै बढ्दै जाने र पश्चिम नेपालको अर्को एक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताइन्छ। स्वर्गद्वारीको दर्शन गर्ने कुनै पनि भक्तजनले महाप्रभुको जन्मस्थलको अवलोकन गर्ने चाहना गर्दछन्। प्यूठान भिङ्ग्रीको बाटो हँुदै स्वर्गद्वारी पुगेर रुन्टीस्थित जन्मस्थलको अवलोकन गरी दाङ झर्न सकिन्छ। यसका साथै दाङको घोराहीबाट होलेरी सडक हुँदै रुन्टीको अवलोकन गरी स्वर्गद्वारी पुग्न पनि सकिन्छ। पछिल्ला दिनमा रुन्टीलाई सडक सञ्जालले जोडे पनि यसलाई व्यवस्थित गर्न राज्यको ध्यान पुग्नुपर्ने र पूर्वाधार विकासमा ठूलै लगानी गर्नुपर्ने धार्मिक पर्यटनका जानकार दीपक डाँगीको भनाइ छ। भौतिक पूर्वाधार तथा सांस्कृतिक प्रवद्र्धनमा लगानी हुन नसक्दा रुन्टीको गरिमा र महत्वलाई बाहिर ल्याउन नसकिएको जानकारहरू बताउँछन्। महाप्रभुको जन्मस्थल मात्र नभएर अखण्ड यज्ञ लगाएको, सन्यासग्रहण गरेको र लामो समय तपस्यासमेत गरेको हुनाले पनि रुन्टीकोे महिमा उच्च रहेको स्थानीयवासी जनक पुनको भनाइछ। स्थानीय सरकार गठनसँगै उक्त क्षेत्रको प्रचारप्रसारका काम सुरु भएको रुन्टीगढी गाउँपालिकाको जिकिर छ। “गाउँपालिकाभित्रका सबै पर्यटीय क्षेत्रको प्रचारप्रसारका लागि राष्ट्रियस्तरका कार्यक्रम सकिएको र पर्यटनसँग सम्बन्धित सबै कार्यक्रममा रुन्टीलाई प्राथमिकताका साथ जोडेका छौँ”, गाउँपालिका अध्यक्ष बुढाले भने, “बितेका चार वर्षमा यस गाउँपालिकाले राष्ट्रियस्तरका तीन वटा ठूला कार्यक्रम गरिसकेको र पर्यटन क्षेत्रको समेत प्रचारप्रसार गर्ने उद्देश्यले राष्ट्रिय विकास सम्मेलन, राष्ट्रिय साहित्य सम्मेलन र पत्रकार सम्मेलनसमेत गरेका थियौँ।”