काठमाडौँ - लर्ड्समा न्यूजिल्याण्डविरूद्धको टेस्टमा शतक प्रहार गरेपछि जो रूटको प्रतिक्रियाबाट थाहा हुन्छ,उनी कति भावुक भएका थिए। अविजित ११५ रन उनको जीवनको २६औँ टेस्ट शतक र चौंथो इनिङ्समा पहिलो थियो। यो शतकसँगै उनले इङ्ल्याण्डका लागि घरेलु सिजनको सानदार सुरूआत गरेका छन्।
३१ वर्षीय रूटले पाँच वर्ष इङ्ल्याण्डको कप्तानी गरेका थिए। उनले इङ्ल्यान्डका लागि ६४ टेस्टमा कप्तानी गरे। जसमध्ये इङ्ल्यान्डले २७ जित र २६ हार व्यहोरेको थियो। तर, उनको टोलीले पछिल्ला १७ खेलमा एक खेल मात्र जितेको थियो।
एशेज सिरिजमा ४-० र वेस्ट इन्डिजमा १-० ले पराजित भएपछि उनले कप्तानी त्यागेका थिए। उनले आइतबारको आफ्नो इनिङ्स पछि भने,‘कप्तानी र व्यक्तिगत प्रदर्शन दुवैलाई एक साथ लैजानु मेरो लागि असहज थियो। कप्तानीले मेरो व्यक्तिगत स्वास्थ्य र जीवनमा असर पारेको थियो। मैले एक टोलीको रूपमा सक्दो प्रयास गरें।’
कप्तानीमा टोलीको पछिल्लो प्रदर्शन निराशाजनक भए पनि उनको व्यक्तिगत फर्म असाधारण रहेको छ। २०२१ मा उनले ६१ को औसतमा १ हजार ७ सय ८ रन बनाए। उनी एक वर्षमा मोहम्मद युसुफले बनाएको विश्व कीर्तिमानभन्दा ८० रन मात्र टाढा छन्।
एशेज सिरिजमा उनको स्कोर अलि कम थियो, तर त्यसपछि उनले एन्टिगुवा र बार्बाडोसमा लगातार शतक लगाएर २०२२ मा गत वर्षको फर्मलाई कायम राख्ने संकेत देखाए।
उनले वेस्ट इन्डिज भ्रमणबाट फर्किएपछि क्रिकेटबाट ब्रेक लिए। त्यसपछि उनले कप्तानीबाट राजीनामा दिने निर्णय गरेका हुन्।
उनले भने,‘मैले सक्दो प्रयास गरेको थिएँ, तर कप्तानको बोझ कति गहिरो थियो भन्ने सायद मैले बुझेको थिइनँ। मलाई मेरो निर्णय सही लाग्यो र राजीनामा दिएँ। राजीनामा दिएपछि मात्रै ठूलो बोझ हटेको महसुस भयो। कप्तानी भनेको विशेषाधिकार हो। अब यो मेरो खेल जीवनमा नयाँ चरण हो। मेरो असल साथी (बेन स्टोक्स)ले अब टोलीको जिम्मेवारी लिएको छ र उसले राम्रो सुरूआत गरेको छ। म भविष्यको लागि धेरै उत्साहित छु।’
जितको बारेमा रूटले भने, ‘यो एकदमै राम्रो अनुभूति हो। लामो समयपछि हामीले यो पाएको जस्तो देखिन्छ। हामी अर्को हप्ता ट्रेन्ट ब्रिजमा यस्तै अनुभव दोहोर्याउन चाहन्छौं।’
आइतबारको जितपछि रूटले पहिले बाउन्ड्री लाइनमा न्यूजिल्याण्डका खेलाडीहरूसँग हात मिलाएका थिए। त्यसपछि पेभिलियनमा लर्ड्सका सदस्यहरूले उनलाई झुकेर अभिवादन गरेका थिए। र, त्यसपछि उनका साथीहरूले स्वागत गरे।
रूटले भने,‘यो मेरो लागि ठूलो कुरा थियो। जब तपाईं ड्रेसिङ रूमबाट हिँड्नुहुन्छ र तपाईंका सहकर्मीहरूले हाई फाइभ दिन्छन् अनि उनीहरूको अनुहारमा खुशी देखिन्छ। विगत डेढ वर्षदेखि मैले यो अनुभव गरेको थिइनँ। मेरो कप्तानीमा स्टोक्सले यति धेरै तारिफ गरेका छन्, मलाई लाग्छ कि यो उनको लागि पनि विशेष थियो।’
यसबारे स्टोक्सले भने, ‘जसले सधैं राम्रो खेलेका छन्, उसले मेरो प्रशंसा गर्नुपर्दैन। किनभने उसले अर्को टेस्ट जसरी पनि खेल्थ्यो। कप्तानी छोडेपछि पहिलो खेलमा आफ्नो देशको नेतृत्व गर्ने तरिका सानदार छ। हामी सहयोगी र धेरै नजिकका साथीहरू हौं र यो जित उनको लागि विशेष थियो, जति यो मेरो लागि थियो।’