काठमाडाैँ - इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा उपाधि होडमा रहेका मिलानका दुवै टोलीले सहज जित हात पारेका छन्। शीर्ष स्थानको एसी मिलानले एट्लान्टामाथि २–० को जित हात पारेकाे हाे।
घरेलु मैदान सान सिरोमा मिलानलाई जित दिलाउन राफेल लियो र थियो हर्नान्डेजले गोल गरेका थिए। खेलको ५६ औं मिनेटमा लियोले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए।
७५ औं मिनेटमा हर्नान्डेजले गोल गरेपछि घरेलु टोलीले २–० को सहज जित निकालेकाे हाे। जितसँगै शीर्ष स्थानको मिलानले ३७ खेलमा ६८ अंक जोड्दा पराजित एट्लान्टा समान खेलबाट ५९ अंकका साथ आठौं स्थानमा रहेकाे छ।
त्यस्तै, इन्टर मिलानले घरेलु टोली काग्लियरीमाथि ३–१ को जित निकालेकाे छ। सर्डेगन एरिनामा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले दुई तथा माटिओ डर्मियनले एक गोल गरेका थिए। घरेलु टोलीका लागि एक गोल चारलाम्पोस लाइकोगियानिसले फर्काएका हुन्।
खेलको २५ औं मिनेटमा डर्मियनले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। ५१ औं मिनेटमा मार्टिनेजले पाहुना टोलीको अग्रता दोब्बर बनाए। ५३ औं मिनेटमा काग्लियरीका लाइकोगियानिसले खेललाई २–१ को अवस्थामा ल्याएका थिए।
८४ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–१ को सहज जित दिलाए। जितसँगै दोस्रो स्थानको इन्टरले ३७ खेलमा ८१ अंक जोड्दा पराजित काग्लियरी समान खेलबाट २९ अंकका साथ २९ अंकका साथ १८ औं स्थानमा रहेकाे छ।