आगामी २१ फागुनमा हुने निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक आज काठमाडौंमा बस्दैछ ।
निर्वाचन आयोगका आयुक्त सगुनशम्शेर जबराको संयोजकत्वमा गठन भएको समितिको बैठक बस्न लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईका अनुसार बैठकमा निर्वाचन सुरक्षासम्बन्धी समग्र अवस्थाबारे समीक्षा गरिनुका साथै आवश्यक रणनीति र तयारीबारे निर्णय गरिनेछ ।
बैठकमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहनेछ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा उपायहरूबारे समितिले ठोस छलफल गर्ने तयारी रहेको आयोगले जनाएको छ ।