काठमाडौँ - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत नवलपुरमा दुई खेल हुने भएका छन्। यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले २ खेल नवलपुरमा खेलाइने तय भएको हो।
प्रतियोगितामा समावेश भएका ३६ खेलमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कुस्ती र सेपाताक्रो खेल हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिएका छन्। नवलपुर सदरमुकाम कावासोतीमा दुवै खेल खेलाइने छन्। सेपाताक्रो कावासोती-२ स्थित योङ्ग स्टार क्लबको कभर्डहलमा असोज २९ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने छ। सेपाताक्रो खेलमा देशभरबाट ९८ खेलाडी सहभागी हुने पुनले बताएका छन्।
यसैगरी नवौँ राष्ट्रिय खेलकुदअन्तरगत कुस्ती प्रतियोगिता कावासोती-१६ डण्डस्थित थारू सङ्ग्रहालय परिसरमा सञ्चालन हुने अध्यक्ष पुनले जानकारी दिएका छन्। कुस्तीमा देशभरबाट १ सय ५८ खेलाडी सहभागी हुने छन्।
दुवै स्थानमा प्रतियोगिताको तयारी जारी छ। दुवै खेलको बन्द प्रशिक्षण नवलपुरमा चलिरहेको छ। सेपाताक्रो गण्डकी प्रदेशका प्रशिक्षक जनार्दन पौडेलका अनुसार अहिले कावासोतीमा गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण जारी छ। कुस्तीमा भाग लिने गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण भने त्रिवेणीमा चलिरहेको छ।