काठमाडौँ - इन्टरनेट सेवा प्रदायकहरूले आगामी सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन्। इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले शनिबार विज्ञप्ति नै निकालेर अर्को सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका हुन्।
‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल र सिफी जस्ता कम्पनीलाई विदेशी रकममा भुक्तानी सिफारिस पूर्ण रूपमा बन्द गरेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘जसकारण विगत ६ महिनादेखि भुक्तानी रोकिएको छ।’ लामो समयदेखि भुक्तानी रोकिएकाले आगामी सातादेखि इन्टरनेट सेवा रोक्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्ने बताइएको छ।
‘अत्यावश्यक इन्टरनेट सेवा, मानवअधिकार भित्र पर्ने इन्टरनेट बन्द गर्ने, निजी क्षेत्रको अस्तित्व तथा लगानीलाई दुरूत्साहित गरी सिध्याउन खोज्ने प्रवृत्तिको विरोध गर्दै चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले विदेशी मुद्रामा भारतीय इन्टरनेट प्रोभाइडरलाई भुक्तानी रोकेको विरोधमा यही वैशाख १९ गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागि नहुने घोषणा समेत इन्टरनेट सेवा प्रदायक संघले गरेको छ।
यही वैशाख १४ गते बसेको कार्यसमिति बैठकले दिवसलाई पूर्ण रूपमा बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ।