फलफूलको राजा किवीले पाएन बजार; निराश भए कृषक

काठमाडौँ । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन।

बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन्। सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए। ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन्। किवीका खेतीका आर्थिक लगानी डुब्न लागेको भन्दै खेतीमा सङ्लग्न किसान चिन्तित भएका छन्।

ताप्लेजुङमा पाँच/सात वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ। अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ। किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ। किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरूमा बजारको चिन्ता रहँदै आएको थियो। सिरिजङ्गा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यजस्तै रहेको बताए। जिल्लामा अधिकांश किसानले एकै समयमा किवीखेती सुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको बुढाथोकीले बताएका छन्। किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उनको भनाइ छ। उनकाअनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ।

यस्तै, फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए। किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा सङ्लग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गरेका छन्। शीतभण्डार (कोल्डस्टोर)सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उनको भनाइ छ। पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनुपर्ने अवस्था आउने बताए। बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवीखेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ। यसरी उनीहरूजस्तै जिल्लामा किवीको व्यावसायिक खेतीमा संलग्न रहँदै आएका किसान बजार अभावले भौतारिँदै आएका छन्। सुरुमा प्रतिकिलो रु. ६०० सम्म पर्ने गरेकामा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो रु. ८० देखि १०० सम्ममा खरिद/बिक्री हुने गरेको छ। उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ।

फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी कुमारीबुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदारहँदै पनि यसबाट किसान बञ्चित हुनुपरेको बताए। शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ। किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×