पूर्वी नवलपरासी - गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ।
कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत स्थान जलमग्न भएका हुन्। पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ। नारायणगढ-बुटवल सडकखण्ड विस्तारको क्रममा सडकका नाली र ढल भत्काइएका कारण पानी बग्न नपाएपछि डुबान भएको हो। नगर क्षेत्रका सबै सडक जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ।
कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ बुटवल-नारायणगढ सडकको काम समयमै सम्पन्न नहुँदा घाम लाग्दा बेस्सरी धुलो उड्ने र पानी परेपछि हिलाम्य हुने समस्याले सकस भएको स्थानीयले बताएका छन्।
“सडकको कालोपत्र भत्किएर बनेका ठूला खाल्डामा पानी जम्दा आवतजावतमा समस्या भएको छ”, स्थानीय रमेश थापाले बताए। वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र आसपासका विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतमा पानी पसेको उनले बताएक छन्।