काठमाडौँ - नेपालमा प्रदर्शन भइरहेको हिन्दी फिल्म ‘उचाइ’ले नेपाली कलाकारको समेत साथ पाएको छ। निर्देशकदेखि अभिनेतासम्मले फिल्म हेर्न आग्रह गरिरहेका छन्।
नेपालमा छायांकन भएको र यहाँको पर्यटन प्रवद्र्धन गरेको भन्दै कलाकारले फिल्म हेरिदिन आग्रह गरेका हुन्। चलचित्र विकास बोर्डले ‘उचाइ’पछि अन्य बलिउड फिल्मलाई छायांकनको लागि नेपालमा ल्याउन पर्यटन बोर्डसँग सहकार्य गर्ने बताइसकेको छ।
यस्तै पर्यटन बोर्डले ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने योजना रहेको उल्लेख गरेको छ। नेपालस्थित ‘लाइन प्रोड्युसर’ले बुधबार विशेष शोको आयोजना गरेका थिए जहाँ कलाकारले ‘उचाइ’ हेरेका छन्। उक्त विशेष शोमा नेपाली ढाकाटोपी लगाएर अतिथिले फिल्म हेरेका थिए। जुन भिडियोलाई ट्वीटरमार्फत सेयर गरेर अभिनेता अनुपम खेरले खुसी व्यक्त गरेका छन्।
नेपालमा आक्रामक व्यापार नगरे पनि फिल्मले सन्तोषप्रद कलेक्सन चाहिं गरिरहेको छ। बुधबारसम्म नेपालमा फिल्मको कमाइ झण्डै १ करोड रुपैयाँ ग्रस छ। प्रक्षेपणअनुसार बिहीबार अर्थात् १ सातामा उचाइको कलेक्सन १ करोड ३० लाख रुपैयाँ ग्रस हाराहारीमा हुने देखिन्छ। बलियो वर्ड अफ माउथ पाएकाले चुनावपछि पनि फिल्म अझै अघि बढ्न सक्ने देखिन्छ।
सुरज वर्जत्य निर्देशित फिल्म उचाइमा बलिउड स्टारहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिता चोपडा लगायतको प्रमुख भूमिका रहेको छ।
नेपाली कलाकार र प्राविधिकको समेत संलग्नता रहेकाले फिल्मलाई नेपालबाटै राम्रो प्रशंसा मिलिरहेको छ। नेपालमा छायांकन गर्दा फिल्मले २० करोड रुपैयाँभन्दा बढी खर्च गरेको अनुमान छ।
शुक्रबार यो फिल्मलाई पर्यटनमन्त्रीसहित पर्यटन व्यवसायीले हेर्ने कार्यक्रम तय भएको छ। भारतीय बक्स अफिसमा उचाइले बुधबारसम्म १५ करोड ४६ लाख भारु कमाएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन्।