बिहीबारदेखि अर्को एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाः कहाँ छ नेपाल र नेपाली खेलाडीको स्थान?

काठमाडौँ - विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि खेल्दै छ। अमेरिकामा हुने यो शृंखलामा घरेलु टोलीसहित नेपाल र ओमान रहेका छन्।

सात टोली रहेको विश्वकप लिग २ मा नेपाल १२ खेलबाट १२ अंक जोडेर तालिकाको छैटौँ स्थानमा रहेको छ। शीर्षस्थानमा रहेको ओमानको ३२ खेलबाट ४० अंक छ।

२० खेलबाट २८ अंक जोड्दै स्कटल्यान्ड दोस्रो स्थानमा रहेको छ। २२ खेलबाट यूएईको २६, २० खेलबाट अमेरिकाको १८ र नामिबियाको १४ खेलबाट १४ अंक रहेको छ। पुछारमा रहेको पपुआ न्युगिनी (पीएनजी)को २० खेलबाट २ अंक छ।

विश्वकप लिग २ अन्तर्गत हरेक टोलीले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नेछन्। जसमा एउटा टोलीले ३६ खेल खेल्नुपर्ने हुन्छ। प्रतियोगिताका शीर्ष तीन टोली आगामी एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्। सन् २०१८ मा प्राप्त एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता जोगाउन पनि नेपाललाई विश्वकप लिग २ महत्वपूर्ण मानिएको छ।

यसअघि अमेरिका, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २०२० को फेब्रुअरीमा नेपालमा भएको थियो। त्यतिबेला नेपालले अमेरिकासँगका दुवै खेल जितेको थियो भने ओमानसँग भएका दुवै खेलमा पराजय व्यहोरेको थियो।

त्यसपछि यी नै टोलीबीच ओमानमा गत सेप्टेम्बरमा भएको शृंखलामा नेपालले अमेरिकासँग १ जित र १ हार तथा ओमानसँग पनि १ जित र १ हारको नतिजा निकालेको थियो ।

गत मार्चमा यूएईमा भएको घरेलु टोली र पीएनजी सम्मिलित शृंखलामा नेपालले २ खेल जितेको थियो भने २ खेलमा हार ब्यहोरेको थियो। यूएईसँग दुवै खेलमा पराजित भएको नेपालले पीएनजीलाई दुवै खेलमा हराएको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हालसम्म २२ खेल खेलेकामा ११ खेल जितेको छ भने ११ खेलमा हार व्यहोरेको छ। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा २८६ रनसम्म बनाएको छ भने २५५ रनसम्म लक्ष्य पूरा गरेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने विकेटको अर्धशतक पूरा गर्नबाट एक विकेटले मात्र टाढा रहेका छन्। सन्दीपले २२ खेलको  २१ पालीमा ५० विकेट लिएका छन्। उनले एकै खेलमा ११ रन खर्चिएर ६ विकेट लिएका थिए। सोमपाल कामीले १८ पालीमा ३१ र करन केसीले १८ पालीमा २७ विकेट लिएका छन्। सुसन भारीले ९ पालीमा १५ विकेट लिएका छन्।

ब्याटिङतर्फ रोहित पौडेलले १७ पालीमा पाँच अर्धशतक र एक शतकसहित ६२३ रन बनाएका छन्। उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान पनि हुन्। उनले एकै खेलमा १२६ रनको पारि पनि खेलेका थिए।

हाल टोलीमा रहेकामध्ये रोहित पछाडि आरिफ शेखले १६ पालीमा एक अर्धशतकसहित ३०० र दीपेन्द्रसिंह ऐरीले १६ पालीमा २९१ रन बनाएका छन्।

विनोद भण्डारीले १२ पालीमा एक अर्धशतकसहित २४८ रन बनाएका छन्। कुशल भुर्तेलले १२ पालीमा २ अर्धशतकसहित २४३ रन जोडेका छन्। सोमपाल कामीले १५ पालीमा एक अर्धशतकसहित २३८ र आसिफ शेखले ९ पालीमा एक अर्धशतकसहित २१४ रन बनाएका छन्।

ज्ञानेन्द्र मल्लले १९ पालीमा ४ अर्धशतकसहित ४८० रन बनाएका छन्। संन्न्यास लिइसकेका पारस खड्काले १० पालीमा एक शतक र दुई अर्धशतकसहित ३१५ रन बनाएका थिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरी, पारस खड्का र रोहित पौडेलले मात्र नेपालका लागि शतक बनाएका छन्। टी २० अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सानदार लयमा रहेका दीपेन्द्रले गत मार्चमा घरेलु मैदानमा आयोजित पपुआ न्युगिनीविरुद्धको खेलमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका थिए। पपुआ न्युगिनीसँग भएको दुई खेलको त्यस शृंखलामा रोहित पौडेलले पनि शतक बनाएका थिए।

टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रले ३९ खेलका ३४ पालीमा एक शतक र ५ अर्धशतकसहित १,०३३ रन बनाएका छन्। कुशल भुर्तेलले १६ पालीमा एक शतक र ५ अर्धशतकसहित ५७३ रन जोडेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×