एजेन्सी। केही वर्षयतादेखि द्धन्द्धमा फसेको यमनमा खाद्यान्नलगायत अन्य आधारभूत आवश्यकताहरुको खाँचो हुदै गएको सम्बद्ध निकायहरुले बताएका छन्। ती निकायहरुका अनुसार यहाँका नागरिक खाद्यान्न अभावमा परेका छन्। पहिलेका वर्षहरुका तुलनामा खाद्यान्नको अभावमा परेका यहाँका नागरिकको सङ्ख्या यसवर्ष पाँच गुणा बढेको पनि बताइएको छ।
राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले यहाँका नागरिकका लागि अब खाद्यान्न नरहेको भन्दै तत्कालै आवश्यकता पूर्ति गर्नुपर्ने बताएको छ। केही हप्तामात्र अघि पनि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले खाद्यान्न तथा आवश्यक पोषणका अभावमा यहाँका बालबालिका विरामी पर्न थालेका भन्दै आवश्यक सहयोगका लागि विश्व समुदायलाई आग्रह गरेको थियो।
यमनमा यस वर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको सङ्ख्या लाखौँ हुने बताइएको छ। खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई चिन्ताजनक भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सबैसँग आह्ववान गरेका छन्।
द्वन्द्वग्रस्त यमनमा पहिल्यैदेखि रहेको खाद्य सङ्कट थप जटिल बन्ने प्रक्षेपण गरिएकोमा पछिल्लो समयमा रुस र युक्रेनको द्धन्द्धका कारण पनि पुनः यहाँका नागरिकमा यस्तो संकट बढ्नसक्ने भन्दै सहयोगका लागि उहाँले आग्रह गर्नुभएको हो ।