गलेश्वर - विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्टलगायतका मौलिक सम्पदा लोप हुँदै गएका छन्।
एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानीघट्ट अहिले लोप भएका हुन्। पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत् सञ्चालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुँदै गएको हो।
गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रुपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लोसमय मिलनै यसको उचित विकल्प बनेको छ। खासगरी पानीघट्ट खोला तथा नदि किनारमा बनाइने गरिन्थ्यो। खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत् फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर्थ्यो।
अहिले यो प्रचलन हराइसकेको छ। यस्ता पानी घट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ। अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन्। अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ। अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन्। यसले मानिसलाई सजिलो बनाइदिएको छ।
मालिका गाउँपालिका–२ रुम गाउँका स्थानीयवासीले केहीवर्ष अगाडिसम्म पानीघट्टमै आटोपिठो पिसेर उपभोग गर्ने गर्थे। अहिले गाउँमा दुई÷तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेका छन्। प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेका छन् भने त्यसका पाटपूर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन्।